News Portal

  • सर्वदलीय बैठकमाओलीले भने-सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ

    जनगर्जन संवाददाता
    ८२० पटक

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

    सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

    राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए । ‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

    सुवालका अनुसार प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए । ‘चुनाव प्रतिगमन कसरी हुन्छ ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ र दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ, त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो,’ सुवालले भने ।

    दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।राष्ट्रपतिको भनाइ उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिले मैले त संविधानको अक्षरअनुसार सरकारकाले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय गरेको होइन । संविधानको मैले संरक्षण गरेको हो । त्यसमा अन्य ढंगले बुझ्नु आवश्यक छैन भन्नुभयो ।’

     

    प्रतिकृया दिनुहोस्